ऐना

कविरको फोनले विउझिए ।

फागुन महिना लागे पनि विहानी चिसो थियो । घरमा सवैजना अझै निदाइरहेका थिए ।

ह्याप्पी भ्यालेन्टाइन डे, मैले हेल्लो पनि राम्ररी भन्न नपाउंदै कविर वोल्यो ।

तिमीलाई पनि धेरैधेरै शुभकामना, मैले अलिकति आङ तान्दै भने ।

एकाविहानै प्रेमीको आवाज सुन्दा शरिर झनन गर्न लागेको थियो । मन फुरुंग भयो । खुट्टाहरु छमछम नाचौ झै भएका थिए । तर त्यसो गरिहाल्न भने सकिन ।

उसले टेक्स्टमा लगातार रातो गुलावका फुलहरु, हर्टका इमोजीहरु र चकलेट पठाइरह्यो । मन उसलाई खोज्दै वादलुमाथि उड्यो ।

तिमीसंगै वसेर भ्यालेन्टाइन मनाउन पाएको भए क्या गज्जव हुन्थ्यो, फेरी पनि ऊ नै वोल्यो, त्यो दिन कहिले जुर्छ ?

दिन आफै जुरेर आउंदैन, मैले भने, हामीले नै जुराउने हो । जुराउने वा नजुराउने हाम्रै हातमा निर्भर छ ।

केही रोमाञ्चक र केही गुनासो मिश्रित कुराकानी गरेर हामी छुट्टिऊ । छुट्टिए पनि ऊसले लगातार टेक्स्ट र इमोजीहरु भने पठाइरहेको थियो ।

शायद आज दिनभर नै यसै गर्ला । ऊ प्रेम वर्षा गराउने मुडमा देखिएको छ ।

कविर पेशाले सैनिक हो । अहिले विराटनगरमा पोष्टिङ छ ।

यो दिल पनि अप्ठेरोमा फलेको फर्सी जस्तो लाग्छ मलाई । जहां सजिलो हुन्छ त्यहां लाग्दैन, जहां अप्ठेरो पर्छ त्यतै लाग्छ ।

कविर आर्मी हो । मेरा वुवाआमा सुरक्षाकर्मीलाई ज्वाइ वनाउन तयार छैनन् ।

हरेक कथाको आधार हुन्छ । जव माओवादी युद्ध चलिरहेको थियो, गाऊमा वसोवास गर्ने मेरा वुवाआमालाई आर्मीले खुव दुख दिए । आर्मीको ज्यादति खप्न नसकेर नै गाऊको साम्राज्य छाडेर वुवाआमा यो काठमाडौंका सानो गल्लीभित्र रहेको आकास पनि राम्ररी हेर्न नपाइने घरमा आश्रित हुन आउनु भएको थियो ।

विवेक नभएका यी आर्मी पुलिससंग त म सातपुस्तालाई पनि नाता नगांस भन्छु, वुवा कहिलेकांही मेरो विवाहको प्रसंग निस्किदा भन्ने गर्नुहुन्थ्यो ।

मैले कहिल्यै प्रतिक्रिया जनाइन ।

त्यसो नभन्नु न, मेरै दिल एउटी आर्मीमा वसेको छ, म कसरी वुवालाई भन्न सक्थे ।

कविरलाई मैले मन पराएको हो, गल्ती त्यही भयो जुन वेला मैले मन पराए, आर्मी भनेर नै चिनिन । जव आर्मी भनेर चिने, यो दिल त्यहांवाट फर्किन मान्दै मानेन ।

त्यसैले त झुलाइदिएकी छु, आमावुवा र कविरको विवाहको प्रस्तावलाई । उहांहरुको प्रस्ताव झुंलाउदा झुलाउंदै मै आफै पनि त झुलेकी छु नि । सुनेकी छु, वाइवी सरकी छोरी त वुढीकन्ने वस्ने भइछे भनेर टोल छिमेकमा कुरा काटेको ।

सवैभन्दा छटपटी त मेरै नातेदारलाई हुने गर्छ ।

के हो दीवा नानी, यही घर कुरेर वुढीकन्या हुने रहर छ कि के हो ?, एकजना नातेदारले केही दिन अगाडि सोधेकी थिइन ।

मैले वनाएको घर हो, तपाइको घर कुरेकी होइन, मैले मुखै फर्काइदिएकी थिए, मेरो जसरी तपाइले पनि तपाइका वाआमालाई स्याहारेको भए अहिले ती वुढावुढी वृद्धाश्रममा हुने थिएनन् । मेरो झोंक देखेर मलाई आमा रोक्न आउनु भएको थियो । मैले झम्टिए पछि भागेकी ती नातेदारको आजकल नाकमुख देखेकी छैन ।

यो रिस म आफैं दोधारमा लट्कनुको परिणाम पनि हो ।

कविरलाई केही पटक तिमी आर्मी छाड अनि मात्रै विवाह गर्छु भने । उसले यसलाई गम्भीरताका साथ लिएको नै छैन । म मुख खोलेर मेरा वुवाआमा आर्मीलाई घृणा गर्नुहुन्छ भन्न सक्दिन । देशको लागि आफ्नो ज्यान वाजी राख्ने सेनालाई कसरी मेरा वाआमाले हेला गर्नुहुन्छ भनेर भनौ र ?

केही वद्मासहरुले गर्दा सिंगो फौज अपमानित हुने गर्छ, दुख यसमा नै लाग्छ ।

………………..

कल्पनामा डुवुल्की मार्दै कार्यालय पुगे । सुनसान थियो ।

सज्जा मिश झ्यालवाट भृकुटी मण्डपतिर एकोहोरो हेरिरहनु भएको थियो ।

मैले तीन पटक सम्म गुड मर्निङ भनेको समेत सुन्नु भएन ।

मैले छुंदा मात्रै उहां झस्किनु भएको थियो ।

ओ हो, कुन वेला आयौ दिवा, उहांले सोध्नुभयो ।

निकै वेर भयो, तपाइ फर्कने छांट नदेखेपछि मात्रै वोलाएकी ।

यी प्रेममा डुवेका स्वच्छन्द पन्छीहरुलाई हेरीरहेकी थिए, उहांले कुराकानी सुरु गर्नुभयो ।

मैले पनि भृकुटी मण्डप तर्फ आंखा लगाए । पार्कमा यत्रतत्र सर्वत्र प्रेमिल जोडीहरु थिए ।

अहिले त यिनीहरुलाई जीन्दगी यस्तै वित्छ भन्ने लाग्दो हो, तर अघिल्लो पाइला नचाल्दै धेरैले संकट झेल्नुपर्छ, मैले केही नवोल्दै फेरी सज्जा मिश नै वोल्नुभयो, यो समय नै यस्तै हो, प्रेममा परिएन भने पनि पछुतो लाग्छ, प्रेममा परियो भने पनि पछुतो लाग्छ ।

ओ हो मिश, आफ्नै अनुभव जसरी पो वोल्नुभयो त, मैले अलिकति माहोल वनाउने गरी भने, सज्जा मिशलाई त प्रेमको वारेमा निकै ज्ञान छ जस्तो सुनिन्छ ।

दीवा, हरेक मानिस संसारमा कांही न कांही प्रेममा परेको हुन्छ, तर अधिकांसको प्रेम कहानीमा सिमित हुन्छ, केहीको प्रेम यथार्थमा वदलिन्छ ।

सांच्चै मिश, मैले उनलाई फेरी उकासे, यो प्रेम दिवसको दिन तपाइको प्रेम कहानी पनि सुनौन ।

मेरो प्रेम कहानी सुनाउनु अगाडि तिमीलाई भन्न चाहन्छु, धेरै प्रेमहरु त यस्ता हुन्छन्, जुनदिन एकापसमा तिमीलाई माया गर्छु भनेर अभिव्यक्त गर्छन, सोही दिनवाट कम हुंदै जान्छन् ।

यतिवेला भने म आफै अलि गम्भीर भएकी थिए । मैले आफ्नै प्रेमीलाई सम्झिएकी थिए ।

के माया गर्नु नै अपराध हो त मिश ? मैले यो पटक अलिकति फरक प्रश्न गरेकी थिए ।

माया गनुलाई म अपराध त मान्दिन तर यो मायाले माया गर्नेहरुलाई नै मर्नु न वांच्नुको अवस्थामा पुर्याउंछ भने त्यस्तो माया गर्नु अपराध हो, उनले भनिन ।

कुरैकुरामा उनले आफ्नो प्रेमकहानी सुरु गरिन् ।

कलेज जीवनको सुरुमा नै एउटा अखिलको राजनीति गर्ने भलिवल खेलाडी केटोसंग वसेको उनको प्रेम कहानी निकै रोमाञ्चक र विष्मयकारी ढंगले अगाडि वढेको रहेछ ।

ऊ मलाइ आफुलाई भन्दा वढी माया गथ्र्यो र म पनि, उनले आफ्नो कथा सुनाउने क्रममा भनेकी थिइन्, झण्डै एउटा ज्यान भएका थियौ तर अकस्मात छुट्टियौं ।

किन ?

मैले उसलाई अंगालेकी भए मलाइ यो समाजले सवैभन्दा वढी अपमानित गथ्र्यो, शायद उसको त ज्यान पनि लिन सक्थ्यो, ऊनले कहानी सुनाउंदा सुनाउंदै आंखा पुछिन् ।

किन म्याम ? मेरो प्रश्नले उनलाई मुटु माथि ढुंगा राखेर वोल्न वाध्य वनायो ।

तिमीले जसरी नै मलाइ हरेक दिन मेरो छोराले प्रश्न गर्छ । तिमीलाई त उत्तर दिन सक्छु दीवा तर छोरालाई उत्तर दिन सक्दिन ।

सज्जाले एकछिन पर हेरिरहिन । शायद मलाई आफ्नो कथा सुनाउने हिम्मत जुटाउंदै थिइन ।

हरेक दिन मेरो छोराले सोध्छ, मेरो वावा खोइ ? मेरो वावा को हो ?

तेरो वावा दलित थियो, एउटी वाहुनकी छोरीलाई लिएर भाग्न आंट गर्न सकेन भनेर जवाफ दिऊकि जस्तो पनि लाग्छ तर त्यो वालकले के दलित वुझोस्, के यो देशका कुसंस्कार वुझोस् ? त्यो कलिलो मनमा अहिले नै के को वितृष्णा रोप्नु ? जे आफ्नो जीवनमा वित्यो, त्यो पनि भन्न नसक्ने कस्तो क्षण आउंदो रहेछ दीवा ?

सज्जा केही वोलिनन् । मौन वसिन् । मलाइ छटपटी भयो ।

निमेषजी कहां हुनुहुन्छ अहिले ?, मैले प्रश्न गर्न छाडिन ।

हि इज नो मोर, सज्जाका आंखावाट सरर आंशु वगे ।

मलाइ लिएर भागेको भए शायद यो समाजले कुटीकुटी माथ्र्यो । पहिला समाज वदल्छु र तिमीलाई लिन आउंछु भनेर माओवादी युद्धमा होमियो र दोहोरो भीडन्तमा मारियो, उनले आंशु पुछ्दै भनिन्, जाने वेलामा मैले मेरो पेटमा तिम्रो वच्चा छ समेत भन्न सकिन । उसको अंश यो पृथ्वीमा छ भन्ने थाहा समेत नपाइ मर्यो ।

हामी केहीवेर मौन रह्यौ, हामी दुवैलाई सामान्य हुन केही समय लाग्यो ।

केहीवेर पछि उनले फेरी भनिन्, मर्ने त मरिगयो तर उसको अंश त मैले हुर्काउनु थियो । गुमनामा भएर काठमाडौं वसे । एकल आमा भएर छोरा हुर्काउंदैछु । समाजसंग लड्छु तर छोराका प्रश्नसंग लड्न गाह्रो हुन्छ ।

म संग उनलाई भन्ने कुनै कुरा थिएन । भोग्ने त उनले हो । भोग्नेलाई सुन्नेलाई भन्दा वढी जानकारी हुन्छ अवको पाइला कसरी चाल्ने भनेर ।

दीवा, प्रेम गर्नु अपराध त होइन तर प्रेमको कारण उत्पन्न हुने परिणाम समेत नवुझ्ने गरी प्रेम गर्नु मूर्खता सिवाय केही होइन, जुन प्रेमले जीवन भरी रुवाउंछ, त्यो के प्रेम ? त्यो वहुलठ्ठीपन सिवाय केही होइन । जसले आफुलाई रुवाउंछ, परिवारलाई रुवाउंछ र समग्र परिवेशलाई रुवाउंछ भने त्यस्तो प्रेमलाई कसरी पुण्य मान्ने ?

उनले सैदान्तिक प्रश्नहरु उठाएकी थिइन् ।

तिमी प्रेम गर तर प्रेमको गन्तव्यको वारेमा सदैव सचेत होऊ, प्रेमले जीवन वांच्न सघाओस्, जीवन तवाह नगरोस्, उनले अन्तिम लाइन वोलिन ।

सज्जा वाथरुमतिर छिरिन् । शायद मन अझै पखालिएको छैन । केहीवेर धित फुकाएर रोलिन् ।

कविरको टेक्स्ट आयो ।

के गर्दैछ्यौ डियर ? फेरी पनि हर्टको इमोजी लेखेको थियो ।

ऐना हेर्दैथिए यो समाजको, छोटो उत्तर दिए, तिमीसंगको सम्वन्ध आजैवाट अन्त गर्छु ल । आजदेखि हामी अजनवी हुनेछौ । वाइ, मैले टेक्स्ट लेखे ।

मोवाइल अफ गरे ।

प्रतिक्रिया दिनुहोस्