त्यो साथै रमाइलो,रातै रमाइलो

केही दिनदेखि मेरो पेट दुखिइरहेको थियो । सँगसँगै महिनावारी गड्बडी त छँदै थियो ।

आइतबार म अस्पताल पुगे । ठूली आमाको छोराले डाक्टर आउने कोठामा राखे मलाई । के थाहा मलाई, यही अस्पतालबाट सुरु हुँदैछ मेरो जीवनको नयाँ अध्याय ? म त चुपचाप बिरामीहरूको लाइनमा बसेर डाक्टरले जाँच्ने कोठाभन्दा बाहिरको भित्ताभरि अनेक स्वास्थ्य–सन्देश लेखिएका ठूला–ठूला पोस्टर हेर्दै थिएँ । डाक्टर आइपुगेकै थिएनन् ।

केही समयपछि एकाएक सबै बिरामी र तिनीहरूसँग आएका आफन्तहरूको अनुहारमा उज्यालो पोतियो । सबै चनाखो भएजस्ता देखिए । डाक्टर आउँदै रहेछन् ।
नीलो सर्ट र खैरो पाइन्ट लगाएका थिए, उनले । बाहिरबाट सेतो गाउन लगाएका थिए । गोलोगोलो अनुहार, आँखामा चौडा खालको चस्मा, लामो नाक– आकर्षक देखिएका थिए उनी । उचाइ पाँच फिट सात इञ्चजति थियो होला ।

उनमा एउटा विशेष ध्यान दिनुपर्ने कुरा के थियो भने उनी हँसिलो अनुहारका देखिएका थिए र यतिबेला मुसुमुसु हाँस्दै हिंडिरहेका थिए । मानौं, उनीभन्दा अघिअघि मुस्कान हिंडिरहेको छ र उनले त्यो मुस्कानको पदचिह्नलाई पछ्याइरहेका छन् ।

उनलाई देख्नेबित्तिकै बिरामीहरूले नमस्कार गरे । उनले मुस्कानसहित नमस्कार फर्काए । त्यसपछि कोठाभित्र मुस्कानसहित नै छिरे ।

अघि सुस्ताएका बिरामीहरू जाँगरिलाजस्ता देखिए । कोठावरिपरि चहलपहल सुरु हुन थाल्यो । म लगभग दस जना बिरामीभन्दा पछाडि थिएँ र आफ्नो पालो कुरेर त्यो परिवेशमा मौजुद सबै घटना चाखलाग्दो तरिकाले हेरिरहेकी थिएँ ।

मैले विशेष चाखलाग्दो गरी हेर्नुको कारण थियो, केटी मान्छेलाई जाँच्ने डाक्टर पनि केटी मान्छे नै हुन्छन् होला भन्ने सोचेकी थिएँ । डाक्टरका रुपमा पुरुषलाई देख्दा सुरुमा त म झस्किएँ पनि । सातो नै गएजस्तो अनुभव भयो एकपटक त । मलाई अचम्म लाग्नुका साथै डर पनि लागिरहेको थियो ।

मैले वरिपरि नियालें । अरू केटीहरू पनि थिए त्यहाँ । त्यसपछि भने अलि ढुक्क भयो मलाई । तर पनि मभित्र अङ्कित डरका रेखाहरु मेटिइसकेका थिएनन् । आफ्नो समस्या पुरुष डाक्टरसामु कसरी सुनाऊँ भन्ने लागिरहेको थियो । अलि बुढो डाक्टर भइदिएका भए पनि त तैविशेक ! उनी त लगभग मेरै उमेरका थिए ।

एक मनले त नजचाइँ फर्कूं कि भन्ने पनि लाग्यो । तर, डरपोक भएर नजचाइकन समस्या बोकेरै फर्किनु पनि त भएन ।

मैले डाक्टरबारे किनकिन धेरै नै सोचिरहेकी थिएँ । उनलाई र आफूलाई नजानिँदो तरिकाले तुलना गरिरहेकी थिएँ । त्यही बीचमा म उनीप्रति कताकता आकर्षित पनि भएकी थिएँ । स्वाभाविकै पनि हो, आफ्नै उमेरको विपरीत लिङ्गीतर्फ आकर्षित हुनु ।

उमेर पुगेका केटा या केटीमा आफ्नै उमेरका विपरीत लिङ्गी देख्दा आकर्षण उत्पन्न भएन भने त्यसलाई समस्या ठान्नु पर्छ । एउटा स्वस्थ मान्छे काम, क्रोध, लोभ, मोहले जेलिएका हुन्छन् । यस्ता मानवीय भाव उत्पन्न भएनन् भने त्यस्ता मानिसमा खोट देखिनु स्वाभाविकै हो । सायद ममा भित्रभित्रै कामभाव जागिरहेको थियो ।

उनलाई मैले पहिलोपटक देखेकी थिएँ । अहिलेसम्म उनीजस्तो मान्छेको कल्पना नै गरेकी थिइनँ । नदेखेको मान्छेको कल्पना गर्न पनि सकिदैन । कल्पना गरेजस्तो वास्तविकता हुँदा पनि हुँदैन । तैपनि यतिखेर मेरो मन चञ्चल बनेको थियो । आफ्नै उमेरका डाक्टरले आफ्नो जाँच गर्दै छ, त्यो पनि महिनावारी गड्बडी र पेटसम्बन्धी । यो कुरा सम्झिँदा कताकता काउकुती लागेको अनुभव भइरहेको थियो मलाई ।

मैले पहिला शिविरमा जचाउँदा एउटी पाकी महिला डाक्टरले जाँचेकी थिइन् । उनीसँग मैले त्यस्तो कुनै असजिलो अनुभव गरेकी थिइनँ । यस अस्पतालमा पनि मैले त्यस्तै अपेक्षा गरेकी थिएँ सायद, त्यो नभएपछि चञ्चल हुन पुगेकी थिएँ ।

“कल्पना पौड्याल, भित्र आउनुस् !” आफ्नै भावमा डुबिरहेकी थिएँ म । आफ्नो नाम बोलाएपछि झसङ्ग भएँ ।

अलिकति डर, अलिकति लाज, अलिकति काउकुती, अलिकति असहजता, अलिकति असुरक्षा, अलिकति आँट र अलिकति मुस्कान बोकेर म डाक्टरको कोठाभित्र छिरे । छेउमा नर्स उभिएकी थिइन् । उनैले हातले इसारा गर्दै बस्न भनिन् । भित्तामा पाठेघरको ठूलो चित्रअङ्कित तस्बिर टाँगिएको थियो । छेउकै अर्को तस्बिरमा भने आमाले बच्चालाई दूध खुवाउँदै गरेको देखिन्थ्यो र नजिकै ठूलो पेट भएकी महिलालाई पुरुषले हात समातेर अस्पताल लैजाँदै गरेको तस्बिर पनि थियो । मैले एक नजर पूरै कोठामा दौडाएँ । “नमस्कार सर !” दुई हात जोडेर भने“ । यति भन्दै गर्दा मेरो डरको पारो अलिकति चढिसकेको थियो ।

उनले मतिर हेरे र मुसुक्क हाँसे, पहिला । मानौं, उनले मलाई वर्षौंदेखि चिनेका छन् । हामी पहिल्यैदेखिका परिचित हौं । भनिन्छ, डाक्टरहरूको बिरामी निको पार्ने आधा औषधि त उनीहरूको अनुहारमा देखिने मीठो मुस्कान र बिरामीसँग बोल्ने नम्र बोली नै हो ।

उनले अत्यन्तै सहज रुपमा नमस्कार फर्काए । सायद उनी मेरो अनुहारमा देखिएको असहजता हटाउन चाहन्थे । सहज वातावरण तयार गरेर मेरो रोगको सही पहिचान गर्न चाहन्थे ।

म डराइरहेकी थिएँ तर कताकता मलाई पनि उनी सधैंका परिचितजस्तै लागिरहेको थियो । त्यसैले त मैले उनको मुस्कान र नमस्कार मुद्रामा जोडिएका हात दुवै आकर्षक देखिरहेकी थिएँ ।

हामी दुईबीच डाक्टर र बिरामीको मात्रै सम्बन्ध थियो, तर कताकता त्योभन्दा बढी नै छ कि जस्तो लागिरहेको थियो मलाई ।

उनले मलाई एकपटक राम्रोसँग हेरे र आफू अगाडिको कुर्सी देखाउँदै ‘बस्नुस्’ भने । उनको अनुहारको मुस्कान भने जस्ताको तस्तै थियो । मानौं, उनी गर्भबाटै मुस्कानसहित जन्मिएका हुन् । शरीरका अन्य अङ्गहरूजस्तै मुस्कान पनि उनको एक अभिन्न अङ्ग थियो ।

म त टोलाइसकेछु । उनले अलि जोडले बस्नुस् भनेपछि पो झसङ्ग भएँ ।

म बसें । उनले मलाई नै हेरिरहेका थिए । मैले पनि हेरें । हाम्रा आँखा जुधे । एकैछिनका लागि चार आँखा एक भए । त्यतिन्जेल आफ्नै परिचयको पनि बोध बाँकी रहेन ममा । तर त्यो हेराई नितान्त दुई अपरिचितबीचको थियो ।

जब होसमा आएँ म, अलिकति लजाएँ । उनी पनि मुन्टो फर्काउँदै मुस्कुराए । कोठामा मुस्कान र लाज मिसिएको अजीवको वातावरण जन्मियो । मादकता छाएजस्तो । यस्तो मादकता मैले जीवन–यात्राको क्रममा सायदै अनुभव गरेकी थिएँ । हामी दुवैले मादकताबाट आफूलाई बचाउन खोजिरहेका थियौं, आफ्नो चेतन मनलाई सम्हालिरहेका थियौं । पत्तै नपाई, त्यो नै सुरुवात बन्यो– हाम्रो प्रेमको ।

साँच्चै, कुनै–कुनै सम्बन्ध किन यस्तो हुन्छ होला ? पहिलो पटकको भेटमै कति आत्मीय लाग्ने । सबै खालको भाव एकैपटक निस्केर आउने । डर, लाज, आनन्द, ग्लानी, सबै–सबै । सधैं उनीसँगै बसिरहूँ जस्तो लाग्ने ।

उनले मलाई गहिरोसँग हेर्दै सोधे, “के समस्या छ तपाईंलाई ?”

मेरा र उनका आँखा जुध्न छाडेका थिए । मैले एकछिनभन्दा हेर्नै सकिनँ उनका आँखामा । लाज लाग्यो । यतिखेर मेरा आँखा झुकेका थिए ।

मैले आफ्नै शरीरको तलतिर हेर्दै भनें, “दुख्छ ।”

मेरो आवाज अलिअलि काँपेजस्तो पनि भइराखेको थियो । लाज त भइहाल्छ नि केटी मान्छेलाई केटासामु आफ्नो समस्या बताउनुपर्दा । त्यो पनि पहिलोपटक ।
“कहाँनेर दुख्छ ?” उनले वातावरणलाई सहज बनाउन खोजे । म सहज बनूँ भन्ने उनको चाहना थियो सायद ।

हुन पनि उनको काम नै यही त हो, उनलाई केको गाह्रो ? मजस्ता बिरामी उनले अहिलेसम्म कति धेरै हेरिसकेका छन् होला । यति पनि गर्न सकेनन् भने उनी डाक्टर भएको काम पनि त भएन ।

आफ्नो दाहिने हातको चोरऔंलाले इसारा गर्दै मैले आफ्नो तल्लो पेटतिर देखाएँ ।

उनले मेरो पेट छाम्लान् कि भन्ने डर थियो मलाई । धन्न छामेनन् ।

“छामेको भए त म लाजले भुतुक्कै हुन्थें होला ।” सम्झिँदै काउकुती लागेर आयो । डर पनि उत्तिकै ।

पहिला जचाएको महिला डाक्टरले पेटको ठाउँठाउँमा थिचेर सोधेकी थिइन्, “दुख्छ ?”

दुख्ने ठाउँमा पुगेपछि मैले ‘ऐया’ भनेकी थिएँ । त्यही डर थियो मलाई अहिले । धन्न, उनले छोएनन् ।

उनले एउटा कागजमा खररर कोर्न थाले । उसै पनि डाक्टरका अक्षर औषधि पसलेले मात्रै बुझ्छन् भनिन्छ । सामान्य मान्छेलाई कालो अक्षर भैंसी बराबर ।
एकैछिन कागजमा लेखिसकेपछि उनले मसँग फेरि सोधे, “अरू केके हुन्छ ?”

अब म अलिअलि सहज बनिरहेकी थिएँ । अलिअलि अप्ठ्यारो बाँकी नै थियो । त्यही बाँकी रहेको अप्ठ्यारोसहित उत्तर दिएँ, “पिसाब पनि पोल्छ ।”
उनले केके लेख्दै मसँग फेरि सोधे, “अनि अरू के हुन्छ नि ?”

मैले लजाउँदै भनें, “महिनावारी समयमै हुँदैन ।”

“अरू ?”

“अरू त खासै त्यस्तो केही छैन । अनि मलाई मिन्स पनि सत्र वर्षमा भएको । ब्लड पनि देखामात्रै पर्छ ।”

उनले औषधि लेखे र मतिर हेर्दै मुसुक्क हाँसे । उनको हेराइ बोल्दै नबोली मलाई आफूतिर बोलाएजस्तो र मलाई नै भनेजस्तो होकि लाग्यो, “आऊ, म तिमीमा समाहित हुन चाहन्छु । म तिमीलाई धेरै–धेरै माया गर्छु ।”

मुखले चाहिं उनले भने, “ल यो औषधि लेखिदिएको छु । एक हप्ता खाएर हेर्नुस् र फलोअपका लागि आउनु होला ।”

मैले उनीबाट औषधि लेखिएको कार्ड लिएँ र ‘हुन्छ’ को इशारामा शीर हल्लाएर उठें । आफ्नो समस्या बताउन गाह्रो भइरहेको मलाई यतिबेला भने हलुका महसुस भइरहेको थियो । मानौं, मैले वर्षौंदेखि थाप्लोमा बोक्दै आइरहेको ठूलै भारी बिसाएकी छु ।

उनले थप भन्न थाले, “पानीचाहिं बढी नै पिउनुहोला । औषधी खाउन्जेलसम्म चिल्लो, पिरो र अमिलो चिज नखानु होला । मैले रगत र पिसाबको जाँच लेखिदिएको छु । त्यसको रिपोर्ट आएपछि रिपोर्ट आउनुहोला ।”

बाहिर निस्किएपछि पो मैले थाहा पाएँ, म त भित्रको संसारमा पूरै डुबेकी रहेछु । भित्र बसुन्जेल अहँ, मलाई कतैका कुनै कुरा याद आएन । सायद ममा बाहिर पनि संसार छ भन्ने बोध नै हराइसकेको थियो ।

त्यो मादक संसार सधैं कायम रहने हो भने मानिस कहिल्यै दुःखी हुने थिएनन् होला ।

म रगत र पिसाब जाँच्न ल्याबतिर गएँ । त्यहाँ सिरिन्जभरि रगत निकाल्यो, रगत जाँच्ने मान्छेले । उसले रगत तान्दा मलाई साह्रै दुख्यो । ऊ डाक्टरजस्तो माया लाग्दो थिएन । न त उसले मलाई दुख्यो भनेर नै सोध्यो । हुन पनि उसलाई सबैलाई यस्तो प्रश्न सोध्ने फुर्सद पनि कहाँ होस् र ? उसका लागि सबै बिरामी एकैनास भए पनि बिरामीहरूका लागि त ऊ एकै हो नि । उसले यति सोचिदिए अलि कम दुख्ने थियो कि ।

…………..

प्रेम मात्र प्रेम हुनुपर्छ । त्यसमा न जोड हुन जरुरी छ, न घटाउ नै । प्रेम शब्दै प्यारो । तर, प्रेमले जति मिठास दिन्छ, त्यति नै नमीठो दुःख पनि । प्रेम गर्नलाई मन चाहिन्छ भने प्रेम सफल पार्नलाई हिम्मत पनि चाहिन्छ । सम्बन्ध जोगाउने कोसिस दुवै पक्षबाट हुनुपर्छ ।

उनी पनि खुल्न थालिसकेका थिए । “तिम्रो ओठ कति राम्रो के ! मलाई देऊ, म लैजान्छु ।” डाक्टर प्रकाशले मेरो ओठमा हेर्दै मसँग भने ।

“हैन होला !” मनमनै उनले अझै मेरो प्रशंसा गरिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो ।

“हो क्या ! तिम्रो कपाल पनि साह्रै राम्रो छ ।” उनले मुस्कुराउँदै भने । उनको मुस्कान देखेपछि म सम्मोहित भइहाल्थें । मानौं, म मुस्कानभित्रै डुब्थें र बाहिर निस्कनै सक्दिनथे ।

“ओठ काटेर लैजानुस् न त । गोजीमा हालेर राख्नुस्, त्यसैसँग जीवन बिताउनुस् । कपाल पनि काटेर दिन्छु, लगेर घरमा झुन्ड्याएर राख्नुस् ।” मैले अलिकति लजाउँदै उत्तर दिएँ । सायद मेरो जवाफ ठाडो भएर होला, उनी मलाई एक तमासले हेरिरहन्थे ।

यदि ओठ काट्ने हो भने उनले मलाई फर्केर पनि हेर्दैनथे होलान् । फेरि ओठ नै भएन भने त अनुहारको शोभा नै कहाँ बाँकी रहन्छ र ? कपाल पनि टाउकाबाट छुट्टिएपछि त्यसको महङ्खव रहँदैन । त्यही कपालको टुक्रा खानेकुरामा प¥यो भने मान्छेले खाना खानै घिनाउँछन् ।

यो कुरा मान्छेलाई थाहा नभएको होइन । तर पनि प्रेममा एक–अर्काले यस्तै–यस्तै भनेर प्रशंसा गर्ने गर्छन् । सायद प्रेममा जे पनि जायज हुन्छ । घन्टौं एकअर्काको तारिफमै बित्यो हामीबीच । म त प्रकाशको बोलीमै मख्ख थिएँ । उनले असम्भव कुरा नै गरे भने पनि सुनिदिन्थे“ र पत्याइदिन्थे“ पनि ।

हामी कन्याम पुगेका थियौं, घुमघाम गर्न । हामीले प्रेमको उच्च शिखरमा पाइला टेकिइरहेका थियौं । म उनलाई अत्यन्तै मन पराउँथें । उनले पनि मलाई मन पराउँथे । यतिबेला म उनको अँगालोमा बाँधिएको थिएँ । म उनको पाखुरालाई संसारकै सबैभन्दा सुरक्षित स्थान मानेर त्यही पाखुरामा टाउको अड्याइरहेकी थिएँ, कुनै अज्ञात प्रदेशमा हराइरहेकी थिएँ ।

कन्याम जानुभन्दा अगाडि हामीमा धेरै सामीप्यता बढिसकेको थियो । शारीरिक स्पर्शको सुखद् अनुभूति बटुल्न मात्रै बाँकी थियो । पहिलोपटक मात्रै अप्ठ्यारो भयो, उनीसँग जाँच गराउन । त्यसपछि भने मैले उनीसित कुनै अप्ठ्यारो मानिनँ र ढुक्क भएर उनका सामु आफ्ना समस्याहरू राखें ।

उनले पनि मलाई प्रत्येक सात दिनमा फलोअपमा बोलाए । डाक्टरले त्यसै पनि बिरामीको स्वास्थ्यप्रति विचार पु¥याउँछन् । त्यसमा उनले मलाई अलि बढी नै ख्याल गर्दै गए । मेरो रगत र पिसाबको परीक्षण गर्न भनिएको थियो । रिपोर्ट आउँदा मैलेभन्दा पहिला नै ल्याएर हेरिसकेका रहेछन् उनले ।

उनी मेरा हरेक कुरामा गम्भीर देखिन्थे । सायद उनको चिन्ता मप्रतिको माया थियो । पहिलो पटक उनलाई देखाउँदा महिनावारी भएको सातौं दिनमा देखाएकी थिएँ । त्यसपछि अर्को महिनावारी नहुँदासम्म मलाई त्यहीं बसेर फर्किनु थियो । नत्र ताप्लेजुङबाट झापा आउन सजिलो थिएन । एक त घरायसी काम, त्यसमाथि टाढा ।

म र उनी दुवैजना योभन्दा पहिला पनि राम्रोसँग बाँचेकै थियौं । तर खै किन हो, यो बेला म उनीबिना बाँच्न सक्दिनँ जस्तो लाग्थ्यो । उनी पनि मलाई त्यही भन्थे ।
श्रीकृष्ण र उनका साथीहरूका बाच्छाहरू ब्रम्ह्माले छल गरेर लैजाँदा कृष्णले दुरुस्तै आफ्ना साथीहरू र बाच्छाहरू तयार गरेका थिए । एकदिन प्रेमवस ग्वालाका बाबुआमाले आफ्ना छोराहरूलाई र गाईहरूले आफ्ना बाच्छाहरूलाई टाउको सुँघेर प्रेम दर्साएका थिए ।

ठीक त्यस्तैगरी प्रकाशले मेरो टाउको सुँघिरहेका थिए । म उनको छातीमा आफ्नो टाउको राखेर बसेकी थिएँ । यसरी बस्दा म जता हेरे पनि सुन्दर दृश्य देखिरहेकी थिएँ । स्वर्गीय आनन्दमा थियौं सायद हामी । टाढाको क्षितिजतिर हेरेर टोलाइरहेकी थिएँ म ।

‘फूलको आँखामा फूलै संसार’ भनेको सायद यही होला । त्यो बेला मेरा लागि संसारमा फूलबाहेक केही थिएन । फूल पनि अत्यन्तै सुगन्ध सहितको । त्यत्तिकै मादकतापूर्ण पनि ।

कन्यामको चिया बगानको रमणीयतामा हामी हराइरहेका थियौं । चियाको एउटा बुटा र अर्को बुटाबीच आत्मीयता गाँसिएझैं गाँसिएका थियौं, हामी पनि । हावाको पातलो स्पर्श पाएर चियाका बुटाहरू हल्लिन्थे, मन्द मुस्कान छर्दै । हामी हल्लिइरहेका चियाका कलिला मुनाहरूमा भविष्यको हरियालीपन भेट्टाउँथ्यौं ।

सम्बन्ध पनि चियाका कलिला मुनाजस्तै हुन् । पहिला त्यो कति मुलायम हुन्छ, रहरलाग्दो । बिस्तारै त्यसमा प्रगाढता भित्रिँदै जान्छन् । छिप्पिँदै जान्छन्, मुनाहरू र परिपक्वता हासिल गर्दै जान्छ । जसरी मुनाहरूलाई सामान्य हावाको झोक्काले लछार्न सक्छ, तर ती पातहरु परिपक्व हुँदै गएपछि भने ठूलै आँधी आए पनि लछार्न सक्दैनन् ।

प्रेम एउटा रङ्गीन डोरी रहेछ, कहाँ–कहाँको मान्छेलाई बाँधेर राख्ने । त्यो बन्धन अलिकति पनि बोझिलो नलाग्ने । बरु अझै कसिलो गरी बाँधिदिए हुन्थ्यो जस्तो लाग्ने । त्यही डोरीमा सधैभरि बाँधिएर बस्न पाए त जीवन कति आनन्ददायक हुन्थ्यो होला ।

हरेक प्रेमजोडीले यस्तै त सोच्छन् होला, प्रेमको पूर्णता विवाह र प्राप्तिमै हुन्छ । अब मलाई उनको हुनु थियो र उनलाई मेरो ।

अस्पतालमा पहिलो दिन मलाई देखेपछि उनले पनि मलाई मन पराएका रहेछन् । दिनभरि मलाई नै याद गरिरहे रे । खासगरी मेरो निर्दोष स्वभाव मन परेको रहेछ उनलाई ।

मलाई पनि त्यस्तै भएको थियो । दिनभरि उनीसँग भेट भएको पल याद आइरहेको थियो ।

किन त्यस्तो हुन्छ होला ? उनी कहाँको, म कहाँको ? सायद उनको र मेरो सम्बन्ध बन्नु थियो होला । हाम्रो भेट त एउटा बहाना मात्रै थियो होला । यस्तै लाग्यो मलाई ।
मैले उनीभन्दा पहिला पनि धेरै मान्छेहरू भेटेकी थिएँ । उनले पनि मजस्ता कैयौं मान्छेहरू भेटेका थिए होलान् । तर मलाई उनी नै र उनलाई म नै याद आउनुपर्ने । त्यही भएर त पराइसँगको सम्बन्ध यति प्यारो हुने भएको होला ।

सात दिनपछि फलोअपमा जाँदा उनीसँग केही कुरा गरेरै छाड्छु भन्ने मैले सोचेकी थिएँ । तर मैले मात्रै कुरा गर्नै परेन । त्यो दिन हामी दुवै उत्साहपूर्वक अलि लामो समय एक–अर्कासँग बोल्यौं । उनैले मेरो मोबाइल नम्बर मागे । मैले अलिकति पनि आनाकानी नगरी नम्बर दिएँ । त्यो बेला सादा मोटोरोला सेट बोक्ने पनि गन्य नै मानिन्थे । म पनि उनका अघि गन्य नै भएँ क्यार ।

“म भरे फोन गर्छु तिमीलाई ।” उनले मलाई हेरेर भने । अघिल्लोपटक तपाईं भनेर सम्बोधन गरेका उनले यस पटक भने ‘तिमी’ भनेका थिए । ‘तिमी’ भन्दा झनै नजिक भएको अनुभूत हुँदोरहेछ ।

“हुन्छ ।” मैले भुइँतिर हेरेर सहजै अनुमति दिएँ ।

अरूलाई भए त म पक्कै दिन्नँ थिएँ, आफ्नो नम्बर । नम्बर पाएपछि केटाहरूको बानी कस्तो हुन्छ भनेर मलाई थाहा नभएको कहाँ हो र ? ताप्लेजुङमा मसँगै पढाउने शिक्षकले नम्बर मागेका थिए एकपटक । मैले पनि सँगै काम गर्ने मानिसलाई नम्बर दिँदा केही फरक पर्दैन होला भन्ठानेर दिएँ तर त्यसपछि उनको त काम नै भयो, खाली मिसकल मात्रै गर्ने । पछि प्रधानाध्यापकलाई नै भनेपछि मात्रै उनले दुःख दिन छाडे मलाई । प्रकाशले पनि त्यसै गर्लान् र ? पक्कै गर्दैन । किनकि ती शिक्षकसँग मेरो आँखा जुधेकै थिएन । तर, प्रकाशसँग त मेरो प्रेमको हार उनिँदै थियो ।

बेलुका उनको फोन आयो । आधा घण्टाजति कुराकानी गरेछौं हामीले । त्यति लामो समय कुराकानी गर्दा पनि मलाई चाहिँ एक मिनेटजस्तो पनि लागेन ।

अल्बर्ट आइन्स्टाइनले त्यही भएर ‘समय सापेक्ष हुन्छ’ भनेका थिए होलान् । कहिलेकाही“ समय बित्दै बित्दैन । जस्तै, उनले मसँग फोन नम्बर मागेको दिन मलाई कहिले भरे आउँला जस्तो भइरहेको थियो । मिनेट–मिनेटको हिसाब गरिरहेकी थिएँ । बेलुका आउन वर्षौं कुर्नु परेजस्तो सकस परेको थियो मलाई ।

हामी फोन–संवादमा मात्र सीमित रहेनौं । संवादका खुट्किलाहरू उक्लिँदै जाँदा भेटघाट पनि गर्न थाल्यौं । प्रेम–प्रस्ताव उनैले राखे, “आइ लभ यु कल्पना ! तिमी मलाई साथ देऊ, म पनि तिमीलाई सधैंसधैं साथ दिन्छु ।”

आफूलाई मन परेको मान्छेको प्रेम–प्रस्ताव स्वीकार्न पनि कति गाह्रो ।

मैले जवाफ फर्काएँ, “आइ लभ यु टू ।” यति भन्दा मेरो मुख हिउँदको खहरेझैं सुकिसकेको थियो । सुख्खा र उष्ण । पानी पाएकी भए दुई लिटरजति नै पिउँथे हुँला, मुख भिजाउन । तिर्खा मेटाउन ।

मैले सजिलै उनको प्रस्ताव स्वीकारें । हाम्रो प्रेम कन्यामका डाँडाकाँडासम्म आइपुग्दा हामी एक–अर्कालाई गहन रुपले बुझ्ने भइसकेका थियौं ।

मैले उनको कोमल दाह्री सुम्सुमाउँदै भनें, “अब हामी बिहे गरेर सँगै बसौं ।” त्यसपछि मैले उनको मुहारमा हेरें । उनको अनुहार अलिकति अँध्यारो भएको देखें मैले । उनको अनुहार अँध्यारो हुनु भनेको मेरो मनमा पनि अँध्यारो नै छाउनु थियो ।

“किन ? केही समस्या छ र ?” मैले उनलाई हेरेर सोधें ।

“छैन । तर…।”

“तर के ?”

“अहिल्यै बिहे गर्न केको हतार ? अलि पछि गरौंला नि । हुन्न ?”

विचार मिलेपछि धेरै कुरा मिल्छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण समान भएका व्यक्तिबीच अन्तरविरोध तथा विवाद कम हुन्छ । त्यस कारण दाम्पत्य जीवन सुखमय बनाउनका लागि केही महङ्खवपूर्ण कुरामा महिला र पुरुषबीच समान दृष्टिकोण हुनु आवश्यक हुन्छ । होइन भने, जीवन नारकीय बन्न पुग्छ । पैसा, पद, प्रतिष्ठा तथा काम आवश्यक कुरा हुन् । तर यी कुराले आफ्नो दाम्पत्य जीवनलाई ओझेलमा पार्नु हुन्न भन्ने कुरामा विचार पु¥याउनु पर्दछ । तसर्थ, सम्बन्धलाई बढी महङ्खव दिने व्यक्तिलाई जीवनसाथी बनाउनुपर्छ । उनले भने केहीपछि मात्रै बिहे गरौं भन्ने संकेत ग¥यो । एकअर्कालाई अझै बुझौं भन्न खोजेका थिए कि, अन्य कारणले त्यसो भनेका थिए, त्यो मैले बुझिनँ त्यतिबेला ।

उनको कुरा सुनेर मलाई बिहे छिट्टै गर्नुपर्छ जस्तो मात्रै लाग्यो । यदि उनले मलाई छाडिदिए भने म त मर्छु होला । ‘फेरि के भर ? मन बद्लियो भने ?’ भनेझैं लाग्यो ।

“बिहे नगर्ने हो भने त म कहिल्यै भेट्दिनँ अबदेखि ।” मैले उनलाई अलिकति घुक्र्याउने शैलीमा भनें र मुन्टो बटारेर पछाडि फर्किएँ ।

“हस् ।” उनले जिस्क्याउँदै भने । अँगालो मारेर मेरो घुमेको मुन्टो आफूतिर फर्काएर मेरो ओठमा आफ्नो ओठ लगेर चुम्बन गरे ।

लगभग एक मिनेटसम्म हामी त्यही अवस्थामा रह्यौं । त्यो आनन्ददायक क्षण…। कसरी बयान गरुँ र त्यसको ? जति बयान गरे पनि शब्दहरूको कमी नै हुन्छ ।

“के रे ?” उनले मेरो ओठबाट आफ्नो ओठ निकालेपछि मैले मुड्की पारेर उसको छातीमा हिर्काएजस्तो गरें ।

बिहेको कुरा यत्तिकै ट¥यो । मैले आनन्ददायक वातावरण बिगार्न उपयुक्त ठानिनँ । तसर्थ, त्योभन्दा अगाडि यस विषयमा कुरा गरिनँ । उनले पनि कुरा उठाएनन् ।
कन्याम यात्राको बयान गर्नलाई भने दुईचार शब्दले काफी हुँदैन । चियाबारीमा अवस्थित लभ डाँडाको फाइदा हामीले दिनभरिमा उठायौं । त्यो रात हामी कन्यामको इलामेली होटलमा बस्यौं ।

आमालाई नभनी प्रकाशसँग घुम्न जाँदा मलाई नरमाइलो पक्कै लागेको थियो । नरमाइलो त लागिरहेको थियो नै, तर त्योभन्दा पनि धेरै खुसी थिएँ म । किनभने आफ्नो प्रेमी मेरो साथमा थियो ।

बेलुका हामीले रमाइलो गर्ने भयौं । यो सुन्दर समयलाई हामी खेर जान दिन चाहँदैनथ्यौं ।

होटलको कोठामा छिर्नुभन्दा पहिला प्रकाशले वियर मगाए । मैले पनि त्यो रमाइलोमा कुनै हस्तक्षेप गर्न चाहिनँ । उनले वियर माग्दा कस्तोकस्तो भने लागिरहेको थियो । मैले अहिलेसम्म वियर खाएकी थिइनँ र खाने मान्छेसँग सङ्गत पनि गरेकी थिइनँ ।

कोठाभित्र छिर्नेबित्तिकै उनले मलाई अँगालो मा¥यो र भने, “तिमीले कहिल्यै वियर खाएकी छौ ?”

मैले उनको अँगालो फुत्काउँदै भनें, “नाइँ, छैन । हाम्रो घरमा यस्तो चलन नै छैन । हाम्रो गाउँमा लिम्बुहरूको घरमा खाने गर्छन्, तर हामीले उनीहरूको घरमा पानीसमेत खाँदैनौं । बाले मार्नु हुन्छ ।”

उनी हाँसे एकपटक र भने, “त्यसो भए आज बाहुनीलाई म वियर चखाउँछु । हुन्छ ?”

मैले भनें, “नाइँ, म त खान्नँ ।”

“त्यसो भए वाइन खाने नि त, ल ?” उनले चेपारे शैलीमा भने ।

वियरको बारेमा सुनेकी थिएँ मैले । त्यो एक किसिमको मदिरा नै हो भन्ने लागेको थियो । वाइनका बारेमा चाहिं सुनेकी थिइनँ । त्यसैले मैले सोधेँ, “त्यो भनेको चै“ के हो नि फेरि ?”

उनले मुसुक्क हाँस्दै भने, “जुस हो, जुस ।”

यत्तिकैमा बाहिरबाट आवाज आयो, “ढोका खोल्नुस् त प्लिज ।”

म ओछ्यानमा ब्याग राख्दै थिएँ । प्रकाश आफ्नो सादा नोकिया फोन चार्ज गर्न लाइनको प्लक खोज्दै थिए । उनले नै ढोका खोले । होटलको भाइले वियर लिएर आएको रहेछ । टुबोर्ग वियर । वियरसँगै ल्याएको थियो– टुबोर्ग नै लेखेको ठूला दुईवटा गिलास पनि ।

“ला, मैले त खाना नै मगाएनछु । भाइ, दुई ठाउँमा खाना लिएर आऊ है ।” प्रकाशले भने । इलामको चिसो मौसममा तातो खाना । त्यसमा कालो दाल, रायोको साग र अकबरे खुर्सानी । मेरा लागि त यी नयाँ चिज थिएनन् तर प्रकाशका लागि भने नौलो चिज थिए । “एउटा रेड वाइन पनि ल्याइदेऊ है ।” प्रकाशले होटलको भाइलाई अ¥हाउँदै भने । मैले ‘नाइँ, हैन’ भनें । उनले थपे, ‘तिमी ल्याऊ न चुपचाप’ । प्रकाशले जिद्दी गरे ।

“हस् ।” होटलको भाइले मलाई र प्रकाशलाई पालैपालो पुलुक्क हे¥यो र ढोकाबाट बाहिर निस्क्यो ।

प्रकाशले भने, “लाटी, वाइनले त फाइदा गर्छ ।” केही समयपछि ‘डिभाइन’ लेखेको वाइन, गिलास र तातो–तातो खाना लिएर होटलको भाइ आयो । प्रकाशले आफूलाई वियर भरे, मेरा लागि आधा गिलास वाइन । भने, “थाहा छ ? वाइनलाई पूरा गिलास भरेर खानु हुँदैन । वाइनलाई त आधा गिलास राखेर बिस्तारै हल्लाउँदै, मुखमा राखेर जिब्रो चलाउँदै मजा लिएर मात्रै निल्नुपर्छ ।” उनी बयान गर्दै थिए, भगवानका पालाको सोम रसको । धर्मग्रन्थका अनुसार सोम रसको प्रयोजन अर्कै थियो भन्ने छ । तर, आज सबै दुःख, सुख भुलाउनका लागि बहाना बनेको छ । मैले उनलाई भनें “तपाईं रक्सी व्यापारी हो कि डाक्टर ?” उनले हाँस्दै भने, “हैन मेरो घरछेउको पसलेबाट थाहा पाएको हुँ यी कुरा ।”

“फेरि हामी डाक्टर चैं मान्छे नै होइनौं र ? हामीलाई पनि त जहिल्यै हस्पिटल, घर, एकै खालको दिनचर्या हुँदा झ्याउ लाग्छ नि । कहिलेकाहीं बेला मौकामा रमाइलो गर्दा के फरक पर्छ ।” उनी आफूलाई डाक्टरभन्दा पहिला आफू सामान्य मानिस भएको प्रस्ट्याउँदै थियो ।

अन्ततः उनले मलाई पनि मदिरा पिउन बाध्य तुल्यायो । खानासँगै मैले वियरको स्वाद पनि चाखें । वाइनको पनि अनुभव गरें । उनले पनि अलिकति वाइन खाए । वियर र वाइन सकिँदासम्म हामीमा नशा चढिसकेको थियो । खाना खाने बेलामा त खानेकुरा मुछेर मुखमा हाल्दा पनि पूरै शरीरमा रोमाञ्चकता उत्पन्न भइरहेको थियो ।

त्यो रात हामीबीच विषयवस्तु धेरै अगाडि बढ्यो । पहिलो अनुभव साँच्चै नै कहिल्यै भुल्न नसकिने हुँदो रहेछ । मलाई अहिले पनि त्यो पल जस्ताको तस्तै याद छ । जति नै मादक पदार्थ सेवन गरे पनि शारीरिक सुख र सन्तुष्टिलाई जित्न नसक्दो रहेछ । त्यही भएर त मान्छेहरू मदिरा सेवन गरेपछि चरम आनन्दानुभूतिको क्रियामा रमाउन चाहँदा रहेछन् ।

एक–अर्काको चरम स्पर्शबाट प्रारम्भ भएको यात्रा अब ओठ हुँदै कताकता सल्बलाइरहेका थिए । म हराइरहेकी थिएँ, कुनै निर्जन जङ्गलबीच हराइरहेका मृगका अबोध बच्चाहरुझैं । कुनै टाकुरामा विचरण गरेजस्तो अनुभूति गर्दै थिए सायद प्रकाशचाहिं । पहाडमा कोही चढ्दा पहाड झन् रमाउने रहेछ । सायद पहाडले आफ्नो पीडा बिर्सिन्छ होला । त्यो यात्रामा सँगालेका दुखाई र आनन्दको म कसरी वर्णन गरुँ …?

पुरुष बलको स्वरुप र स्त्री कोमलताकोे स्वरुप । आ–आफ्ना स्वरुप पोखेर हामी एक–अर्कामा लीन हुन थाल्यौं । हाम्रो प्रेम आँखाबाट सुरु भएर अनगिन्ती मोड हुँदै गुज्रियो, केही मिनेटको अन्तरालबीच । म पनि पुरुषोचित अङ्गहरूसँग परिचित हुँदै गएँ ।

म पनि बिस्तारै पग्लिन थालें, हिउँदका दिनमा ग्लेसियर पग्लिएझैं । केही समयपछि उनको सबै बलिष्ठता कुनै नदीको पानीजस्तै बेगले बग्यो मभित्र । मलाइ यदि भर्खरै मेरो र प्रकाशबीच युद्व भएको भए मलाई विजेता घोषणा गर्न मन थियो । मेरो कोमलताले उनको बलिष्ठतालाई जितेको थियो ।

त्यसपछि म उनलाई महसुस गर्न थालें । केवल उनलाई, मेरो प्रकाशलाई….।

शिखर उक्लिएका यात्रीहरू थकानले पिल्सिएर शिथिल भएझैं उनी पनि शिथिल बने । लल्याकलुलुक भए, सूर्यको किरणले बिथोलेको लज्जावती झारझैं ।

परमानन्दको अनुभव गरेपछि उनी त्यत्तिकै मेरो शरीरमाथि पल्टिए । युद्ध जितेको सिपाहीले लामो सास फेरेझै सास फेरे उनले पनि । त्यतिन्जेलसम्म उनको बलिष्ठता मभित्र कोमलता भएर हराइसकेको थियो । शिथिलीकरणसँगै उनले आफ्नो पूर्ण शरीर ममाथि बिसाए । कुनै भरियाले उकालीमा गहु्रँगो भारी बिसाए ।

यतिबेला म केटाकेटी हुँदा बेहुलाबेहुली र बुढाबूढी भएर भाँडाकुटी खेलेको सम्झिरहेकी थिएँ । आफू आमा बनेर ढुङ्गाको बच्चा बोकेको पनि सम्झिएँ ।

सोचें, “मानिसले आफ्नो उमेरअनुसार विविध अनुभवहरू सिक्दै जाने रहेछन् । त्यो भाँडाकुटीमा ढुङ्गाको बच्चा बोक्ने म आज आफ्नै बच्चा बोक्ने उमेरमा पुगेकी छु ।”
त्यो रात हामी दुवैले आफ्नो जवानीको अनुभव ग¥यौं । र, एक–अर्काको अँगालोमा बेरिएरै निदायौं त्यो रात । त्यो त्यस्तो अविस्मरणीय निद्रा थियो, जुन सधैं मिल्दैनथ्यो । म निदाइनँ । हराए कतै प्रकाशभित्र त्यो रात ।(उपन्यास ‘अधवैंशे आइमाइ’को एक अंश)

प्रतिक्रिया दिनुहोस्