किन फक्रन्न त्यही खुशी ?

एक बिहानको बाटो हिंडेर

दमाई दाइको गर्नु मनुहार गरेर,

उनको सरसामान समेत बोकिदिन मद्दत गरेर

उनलाई घर ल्याएपछि

थुक लगाई लगाई

धागो उनेको उनको सियोले सिएर

जुन नाना तयार हुन्थ्यो,

किन त्यही नानाको जस्तो सुगन्ध आउँदैन अचेल

हजारौँ खर्चेर किनेको आयातित लुगाबाट ?

मान्यजनबाट टिका थापेपछि

दक्षिणामा पाएको

यी ठुला ठुला नोट हातमा लिएर

म सोचिबसेको छु,

ती बिस, पचास पैसे ढ्याकले

जुन खुशी पोतिदिन्थ्यो मेरो अनुहारमा

किन फक्रन्न त्यही खुशी

यी सय, हजारका चिल्ला नोटले मेरो मुहारमा ?

प्रतिक्रिया दिनुहोस्