दक्षिण एशियाका अन्य देशहरूमा सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढ्यो कोरोना भाइरस ?

गत वर्ष चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमण यति बेला नेपालमा तीव्र गतिमा फैलिरहेको छ।

विशेषतः काठमाण्डू उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको अवस्था भए पनि नेपालका लागि अहिलेको अवस्था ुपिकु अर्थात् उच्चतम दर हो वा होइन भन्ने विषयमा विज्ञहरू नै पनि निष्कर्षमा पुगेका छैनन्।

विश्वका विभिन्न मुलुकहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलने क्रम सीमित अवधिमा व्यापक रूपमा बढ्ने अनि एउटा विन्दुमा पुगेपछि क्रमिक रूपमा घट्ने गरेकाले पनि नेपालमा हालको अवस्था के हो भन्ने बारे कौतुहलता देखिन्छ।

के हो त नेपालको अवस्था ? दक्षिण एशियामा सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढिरहेछ त ?

नेपालको पछिल्लो अवस्था

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमितहरुको सङ्ख्या १३९,१२९ पुगेको छ भने निको भइसकेकाहरूको सङ्ख्या ९६,६०९ छ।

सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ४१,७५५ छ।

नेपालमा गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमण फेला परिरहेका छन्।

गत अक्टोबर १० तारिखमा ५,००८ जनामा सङ्क्रमण पुष्टि हुँदा त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो। त्यस्तै मङ्गलवार ३,०९३ सङ्क्रमणका नयाँ घटना पुष्टि भएका थिए।

सङ्क्रमितहरूको सङ्ख्या बढ्ने मात्रै होइन सघन उपचार र अक्सिजनको आवश्यकता पर्नेहरूको सङ्ख्या पनि बढिरहेको चिकित्सकहरू बताउँछन्।

सघन उपचार र भेन्टिलेटर चाहिने बिरामीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाउँछ

अमेरिकालाई उछिन्दै सबैभन्दा बढी सङ्क्रमित रहेको मुलुक बन्न सक्ने सम्भावना रहेको छिमेकी भारतमा सङ्क्रमणको दर सुस्ताए जस्तो देखिँदा नेपालमा भने गति तीव्र हुँदै गएको छ।

दक्षिण एशियाका अधिकांश मुलुकहरूमा पनि नयाँ सङ्क्रमितहरू थपिने क्रम सुस्ताएको देखिन्छ।

यस्तो अवस्थामा नेपालमा भने अवस्था फरक किन देखियो त ?

सुरुवात नै ढिलो

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन नेपालमा सङ्क्रमण फैलने गतिमा सुरुवाती दिनमा कम देखिएकोले हाल अन्य दक्षिण एशियाली मुलुकहरूभन्दा अवस्था फरक भएको हुनसक्ने बताउँछन्।

नेपालमा निकै कम सङ्क्रमणका घटना पुष्टि हुँदै कडा लकडाउन लागु भयो जसले गर्दा सङ्क्रमण बढेन। भारतमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिँदा नेपालमा पनि खुकुलो पारिएको भए दुई देशको पिकको समय मिल्न सक्थ्यो, उनले बीबीसीसँग भने।

उनका अनुसार ब्रिटेन र फ्रान्सजस्ता युरोपेली मुलुकहरूमा पनि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएसँगै सङ्क्रमणको दोस्रो लहर देखिएको छ।

बारा र पर्सामा सङ्क्रमण उच्च दरमा भएका बेला त्यहाँबाट काठमाण्डू आउने क्रम पनि केही बढेको हामीले अनुभव गरेका थियौँ। ती स्थानबाट आएका व्यक्तिहरू काठमाण्डूमा घुलमिल भएपछि स्थानीयमा समेत भाइरस सर्न गयो, उनले भने।

आधारभूत गल्तीको नतिजा

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी सरकारले लकडाउनका बेला गरेको दुईवटा प्राविधिक रूपमा त्रुटिपूर्ण कार्यका कारण अहिले सङ्क्रमण तीव्र गतिमा फैलिरहेको बताउँछन्।

भारतसँगको खुला सीमा व्यवस्थापनमा सरकारको कमजोरी र भारतका विभिन्न स्थानबाट सङ्क्रमण उच्च दर र सङ्क्रमण नभएका सहर आएका नेपालीहरूलाई एकै स्थानमा क्वारन्टीनमा राखेर नेपाल प्रवेश गराउने कार्यले सङ्क्रमण फैलने आधार तय गरिदिएको उनको बुझाइ छ।

त्यस्तै कोरोनाभाइरस सङ्क्रमण पहिचानका विषयमा भर पर्न नसकिने र्‍यापिड डाईअग्नस्टिक टेस्ट आरडीटी परीक्षणले गर्दा साँच्चिकै अवस्था के हो भन्ने कुरा थाहा हुन नसकेको उनी बताउँछन्।

अहिले किन गति तीव्र भयो भन्ने कुरा गरिरहँदा बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नेपालमा प्रत्येक वर्ष सेप्टेम्बर र अक्टोबर महिनामा इन्फ्लुएन्जाबाट बिरामी हुनेहरुको सङ्ख्या बढी हुन्छ। अहिले कोभिड१९ का कारण त्यो झन् बढेको देखिन्छ, मरासिनिले भने।

झन् बढ्न सक्छ

जनघनत्व बढी रहेको काठमाण्डूमा सङ्क्रमणको दर उच्च रहेको अवस्थामा कतिपयले यो नै नेपालका लागि पिक हुन सक्ने बताइरहेका छन्।

डा। पुनका अनुसार मौसम चिसो अनि सुख्खा हुने क्रम सुरु भइसकेको अवस्थामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या झन् बढ्न सक्छ।जाडोमा भाइरस झन् बढी सक्रिय हुने कुरा विभिन्न अध्ययनहरूमा उल्लेख छ। नेपालमा जाडो मौसममा मानिसहरू भित्रै बस्न रुचाउने हुँदा सङ्क्रमणको जोखिम उच्च हुन्छ, उनले भने।

त्यस्तै हाल लक्षण देखिएकाहरूले परीक्षण गर्दा र उनीहरूमा सङ्क्रमण पुष्टि भएको अवस्थामा कन्टयाक्ट ट्रेसिङका आधारमा बाहेक परीक्षण हुन सकेको छैन।

यस्तो अवस्थामा लक्षणबिनाका मानिसहरू समुदायमा घुमिरहेको हुन सक्ने र त्यसले समुदायमा झन् बढी मानिस सङ्क्रमित गराउने सम्भावना रहेको विज्ञहरू बताउँछन्।

डा. मरासीनीका अनुसार काठमाण्डू सङ्क्रमणको पहिलो चरणको पिकमा जान थालेको स्पष्ट सङ्केत देखिन थालेको छ।

उनका अनुसार दसैँ र तिहारबीच काठमाण्डू उपत्यकामा सङ्क्रमणको दर घट्न सक्ने सम्भावना छ।

तर मङ्सिर (नोभेम्बर डिसेम्बर) मा नेपालका हकमा ठ्याक्कै के हुन्छ भनिहाल्न भने गाह्रो रहेको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्