दुर्गमबासीको सेवामा रमाएका डाक्टर

बालरोग विशेषज्ञ डा. कलेब बुढाले डाक्टरी काम थालेको पाँच दिनमा जाजरकोट भूरकी एकजना गर्भवती महिलालाई सुत्केरी गराउन चौरजहारी अस्पताल रुकुममा ल्याइयो।

पेटभित्र बच्चा तेर्सो परेको र हात पहिला निस्किएको हुनाले शल्यक्रिया गरेर बच्चालाई जन्म दिनु बाहेक अरू विकल्प थिएन।

तर अस्पतालमा भने शल्यक्रिया गर्नका लागि बेहोस बनाउने स्वास्थ्यकर्मी थिएनन्।

समयमै शल्यक्रिया गरेर बच्चालाई जन्म नदिए आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा देखेपछि उनले ढिला नगरी गर्भवतीलाई नेपालगञ्ज रेफर गरे।

तर बिहान नेपालगञ्ज पठाइएकी उनै गर्भवतीलाई लिएर रातको एक बजेतिर आफन्त पुनः अस्पतालमै आए।

दुर्गममै बस्ने प्रेरणा

त्यसबेलासम्म बच्चाको मृत्यु भैसकेको थियो भने आमाको अवस्था एकदमै गम्भीर थियो।

यो घटनाले आफ्नो सोचाइमा ठूलो परिवर्तन ल्याएको डा. बुढा बताउँछन्। उनले भने, “त्यस घटनाले मलाई सुगममा काम गर्ने सपना त्यागेर दुर्गममै बसेर विपन्न व्यक्तिको सेवा गर्ने प्रेरणा मिल्यो”।

राष्ट्रिय चिकित्सा स्वास्थ्य प्रतिष्ठानबाट पढाइ सकेपछि काम शुरू गर्न उनी पश्चिम रुकुमको चौरजहारी अस्पतालमा आएका थिए।

केही समय त्यहाँ काम गरेर सुगम जाने उनको चाहना थियो।

सकेसम्म चिकित्सकहरू दुर्गममा जान नचाहने र गएपनि धेरै समय नबस्ने गरेको पाइन्छ।

तर विभिन्न खालका दुःख कष्ट झेलेर दुर्गममा सेवा दिने न्यून सङ्ख्याका डाक्टरमा पर्ने बुढा विगत १० बर्षदेखि चौरजहारी अस्पतालमै दुर्गमका बिरामीको सेवामा दिनरात खटेका छन्।

बिरामीको उपचार गदै

छुट्टै आनन्द

पुर्ख्यौली घर कालिकोट भएपनि डडेलधुरामा जन्मे हुर्केका उनका बुवाआमा डडेलधुरा अस्पतालमै काम गर्थे।

अस्पतालका स्वास्थ्यकर्मीले दिनरात नभनी निःस्वार्थ रूपमा बिरामीको सेवा गरेको देखेपछि आफू पनि स्वास्थ्य क्षेत्रमा लाग्न प्रेरित भएको उनले बताए।

भौगोलिक विकटता र आर्थिक विपन्नताले जाजरकोट, पश्चिम रुकुम, सल्यान, डोल्पा लगायतका जिल्लाका अधिकांश बिरामी बाहिर नगएर चौरजहारीमै आउँछन्।

दुर्गममै बसेको कारण सुविधायुक्त अस्पातालसम्म जान नसक्ने कैयौँ बिरामीको ज्यान जोगाउन सफल भएको उनी सुनाउँछन्

गरिबको सुख दुःख नजिकबाट नियालेका उनी भन्छन्, “दुर्गमका बिरामीको सेवा गर्दा छुट्टै आनन्द आउँछ।”

सालनाल अड्किएका, बच्चाको हात निस्केर ज्यान जोखिममा परेका गर्भवती, हड्डी फुटेर छालाबाट बाहिर निस्केका, जलेका, आन्द्रा फुटेर अस्पताल आएका बिरामीसँग सुविधासम्पन्न शहरका अस्पतालमा जाने यातायात खर्च र उपचार गर्ने समेत पैसाको अभाव हुने गरेको पाइन्छ।

बालरोग विशेषज्ञ भएपनि शल्यक्रियादेखि सबै किसिमका बिरामी हेर्ने गरेको उनी बताउँछन्।

उनी भन्छन्, “आफ्नो ज्ञान, सीप र अनुभव प्रयोग गरी उपचार गर्छु।”

फोटो नम्वर ५ -२५ बर्ष अघि स्थापना भएर दुर्गम गाउँका जनताको लागि बरदान बनेको चौरजहारी अस्पताल
चौरजहारी अस्पताल

“बिरामीको ज्यान बचाउँदा परिवारमा छाउने खुशीले अनौठो अनुभूति हुन्छ।”

पैसा कमाउन होइन सेवा गर्न

बृद्ध आमा काठमाण्डू बस्छिन्। उनी श्रीमती र बच्चासहित चौरजहारीमै बस्छन्।

उनकी श्रीमती अस्पतालमै एमडीजीपी डाक्टरको रुपमा कार्यरत छन्।

दुर्गममा बसेपनि उनले सुगमका डाक्टर भन्दा केही बढी मात्रै सेवा सुविधा पाउँछन्।

“पैसा कमाउन भन्दा पनि सेवा गर्न दुर्गम ठाउँ रोजेको हुँ,” उनी भन्छन्, “आफुसँग जे छ त्यसैमा चित्त बुझाउन सक्यो भने सन्तुष्टि मिल्दो रहेछ।”

सबै रोगको उपचार

दुर्गमको अस्पतालमा न बत्तिको भरपर्दो सुविधा छ, न आवश्यक उपकरण र पर्याप्त जनशक्ति नै छन्।

विभिन्न अफ्ट्याराहरूमाझ उनको समूहले कर्णाली प्रदेशमै सबैभन्दा धेरै बिरामी आउने चौरजहारी अस्पताललाई धानिरहेको छ।

अस्पतालमा अहिले उनीसहित एक जना एमडीजीपी र चारजना मेडिकल अधिकृत छन्।

कसैको अनुपस्थितिमा उपचार सेवा प्रभावित नहोस भनेर उनीहरूले सबै प्रकारका बिरामी हेर्छन्।

विश्वास जित्न सफल

दुर्गममा विशेषज्ञ चिकित्सक नआउने भएकोले उपलब्ध जनशक्तिलाई दक्ष बनाउनुको विकल्प नभएको उनी बताउँछन्।

सेवा भावले काम गर्दा विश्वास जित्न सफल भएकोले बिरामीको सङ्ख्या बर्षेनी बढ्दै गएको उनको भनाइ छ।

१२ बर्षअघि उनी आउँदा बर्षमा १८ हजार बिरामीले सेवा लिन्थे अहिले त्यो सङ्ख्या करिब ७२ हजार पुगेको छ।

अस्पतालले गतवर्ष दुई हजार ५ सय जनालाई शल्यक्रिया गरेर बचाएको थियो।

अस्पतालमा ब्लड ब्याङ्क छैन। बिरामीलाई रगत चाहिए कहिलेकाहीँ स्वास्थ्यकर्मी आफैले दिन्छन्।

अस्पतालका निर्देशक डाक्टर कालेब आफैले रगत दिएर अहिलेसम्म १०-१२ जना बिरामीलाई बचाएको बताउँछन्।

हातको हड्डी भाँचिएका विरामीको अप्रेसन गदै उनी र उनको टिम

भूतप्रेत र देउता बिग्रेर बिरामी परेको भन्ने अन्धविश्वासले पहिले धामी झाँक्री गर्ने र केही उपाय नलागेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गरेकोले उपचारमा कठिनाइ हुने गरेको उनले बताए।

“बिरामीहरू किटाणुले रोग लाग्छ भन्ने बुझ्दैनन्। तर स्वास्थ्यकर्मीले गर्ने व्यवहार र प्रेम बुझ्छन्।”

उनी भन्छन् “त्यसैले स्वास्थ्यकर्मीले किटाणु मार्ने र भाँचिएको अङ्ग जोड्ने भन्दा पनि बिरामीको मनमा परेको असर बुझ्ने प्रयास गर्नुपर्छ।”

गर्भवती महिलाले शल्यक्रिया गर्नुपर्दा आफैले निर्णय नगरेर श्रीमान्‌को भर पर्नुपर्ने अवस्था दुर्गम क्षेत्रमा कायमै छ।

जसको कारण समयमा निर्णय नहुँदा कतिपय गर्भवती महिलाहरूको ज्यान समेत जोखिममा पर्ने गरेको छ।

बिर्सनै नसकिने गुण

विगत १० बर्षदेखि चौरजहारी अस्पतालमै डाक्टर बुढा रमाइरहेका छन्। त्यस क्षेत्रका बासिन्दा पनि खुशी देखिन्छन्।

आफुहरूले घरदैलोमै सर्वसुलभ रुपमा उपचार सेवा पाइरहेको उनीहरू बताउँछन्।

तिनै मध्येकी एक रुकुम पश्चिमकी महिमा विष्ट भन्छिन्, “डाक्टर कालेबकै कारण हामीले घरदैलोमै स्वास्थ्य सेवा पाइरहेका छौँ, हामी यो गुन कहिल्यै पनि बिर्सन सक्दैनौँ।”

मुटु रोगी छोराको चौरजहारी अस्पतालमा नियमित उपचार गदै आएकी उनी उपचारसँगै डाक्टरले दिने हौसलाले सबै पीडा बिर्सेर मनोबल बढाउने गरेको बताउँछिन् ।

चौरजहारी नगरपालिकाकी सरस्वती लामिछाने पनि लामो समयदेखि चौरजहारी अस्पतालमा डाक्टर जहिले पनि उपलब्ध हुने गरेकाले आफू उपचार गर्न बाहिर जानु नपरेको बताउँछिन्।

उनी भन्छिन्, “पहिला सानोतिनो उपचारको लागि पनि बाहिर जानु पर्थ्यो अहिले हामीलाई सुविधा छ।”

विपन्न नागरिकको अस्पतालको रूपमा पनि चिनिने चौरजहारी अस्पतालमा गतवर्ष करिव ६९ प्रतिशत बिरामीले विमा बाट सेवा लिएका छन्।

सुविधा सम्पन्न अस्पताल बनाउने सपना

दुर्गमका बासिन्दाका लागि वरदान बनेको चौरजहारी अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने डा बुढाको सपना छ।

ब्लड बैक स्थापना गर्ने, अक्सिजन प्लान्ट जडान गर्ने, विशेषज्ञ डाक्टरसँगै सेवा सुविधा थप्ने उनको योजना छ।

डा. कालेबले नेतृत्व गरेको ५० शैयाको चौरजहारी अस्पताल अन्तराष्ट्रिय स्तरको गोल्डेन अवार्ड पुरस्कार जित्न पनि सफल भएको छ।

५० बेडको चौरजहारी अस्पतालले जनशक्ति अभावका बीच दुर्गमका बासिन्दालाई सुलभ रूपमा स्वास्थ्य सेवा दिँदै आएको प्रदेश स्वास्थ्य निर्देशक डा. रवीन खड्काले बताए ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार अहिले प्रदेशमा दरबन्दी अनुसार ६५ प्रतिशत स्वास्थ्यकर्मी र ८२ प्रतिशत चिकित्सक अपुग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्